
चितवनः नेपालमै पहिलो पटक पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी) मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रा.लि.लाई सर्वसाधारणलाई शेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो ।
देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक बिनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय गरेर प्रक्रिया अघि बढाईएको छ । कम्पनीको पोल्ट्री फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ सर्दी नवलपुरमा रहेको छ ।
सो कम्पनी र भगिनी कम्पनीहरु गरी सो क्षेत्रमा ३३ विगाहा जमिनमा फार्म रहेको छ । पोखरेलका अनुसार फार्ममा चार लाख लेयर्स कुखुरा छन् । फार्ममा रु. १ अर्ब ५० करोड लगानी भईसकेको छ । फार्म विस्तारको क्रममा रहेकाले रु. २ अर्ब भन्दा बढी लगानी पुग्नेछ । कम्पनीमा हाल ४० जना शेयर सदस्य छन् । कुखुराका लागि आवश्यक पर्ने चल्ला हुर्काउने खोर, अण्डा भण्डारण केन्द्र, दाना भण्डार केन्द्र, कर्मचारी आवास लगायतका संरचना रहेका छन् । सँगै क्रेट उद्योग र मल उद्योग पनि रहेका छन् ।
पोखरेलका अनुसार त्यहाँ दैनिक १ हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आईरहेको छ । एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ । अत्याधुनिक स्वचालित प्रणालीमा अण्डाको ग्रेडिङ्ग गरी उपभोक्तालाई सहुलियत मूल्यमा यस कम्पनीले अण्डा बिक्री गरिरहेको छ ।
कम्पनीका उपकार्यकारी निर्देशक विपिन पोखरेलले कम्पनीले भगिनी संस्था किसान दाना उद्योगले बजारीकरण गरिरहेको डिपोहरु मार्फत् अण्डा बिक्री गरिरहेको बताउनुभयो । हालसम्म देशका विभिन्न शहरमा १५ वटा डिपो र अन्य डिलरहरुमार्फत् अण्डा बिक्री हुँदै आईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “कम लागतमा अण्डा उत्पादन गरेर सस्तो र सर्वसुलभ रुपमा उपभोक्ता समक्ष पु¥याउने हाम्रो लक्ष्य छ ।”
कम्पनीका अध्यक्ष रघुनाथ भट्टले पोल्ट्री फार्म पब्लिकमा जान लागेको नेपालमै पहिलो भएको बताउनुभयो । आम नागरिकलाई शेयरधनी बनाएर देशका अन्य ठाउँहरुमा समेत अत्याधुनिक फार्महरु निर्माण गरी कम लागतमा धेरै अण्डा उत्पादन गर्ने र सर्वसुलभ रुपमा उपभोक्तासम्म पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । विशेष साधारणसभाले निर्णय गरेसँगै पब्लिकमा जाने प्रक्रिया अघि बढेको उहाँको भनाई छ ।