चितवनः चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजबाट शुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।

मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा.जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्तिहरु जनताको समस्याहरुलाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणको लागि चित्तौने कचहरीको आयोजना गरिएको उहाँको भनाई छ ।

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी समूहगत छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । दुई दिनसम्म कार्यक्रममा मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने उहाँको भनाई छ । कचेहेरीको पहिलो दिन ७ वटा विषयमा समूहगत छलफल हुनेछ ।

घर गाउँको सिंहदरबारः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुनेछ । आजै नै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो ।

शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि ?, कसरी लेखिँदैछ चितवनको आख्यान ?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम समेत हुनेछ । उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाँच समेत प्रस्तुत गरिरहेको छ ।

कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस !