चितवनः बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध संकलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध संकलन हुने क्षेत्रलाई समेटेर दूध जोन बनाउन शुरु गरेको हो ।
मन्त्रालयका सचिव डा.शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच वटा जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुई–दुई वटा जोन बनेका छन् भने ललितपुरमा एउटा जोन बनेको छ । आउँदो आर्थिक वर्षमा यो संख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोग विरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन बृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यवसायिक ढंगबाट गोठ सुधारका कार्यक्रम गरिंदै छ ।

जोनभित्र दूध कम आएका पशुलाई सुधार गर्न गाई भैंसी पुनस्र्थापना केन्द्र समेत बनाईदै छ । ती पशुलाई उपचार गरेर पूर्ववत् अवस्थामा फर्काई पुनः किसानलाई दिईने छ । चालु आर्थिक वर्षमा ढिलो गरी कार्यक्रम शुरु भएकाले रु.१ करोड हाराहारी खर्च गरिंदै छ भने आउँदो वर्ष जोन थप्ने गरी बजेट विनियोजन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेपालमा वार्षिक २५ लाख मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । जसमध्ये बागमती प्रदेशमा ६ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । एक जनालाई व्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्ने तथ्यांक छ । आत्मनिर्भर हुने गरी दूध उत्पादन गर्न जोनको अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।

जोनका लागि दूध नपुगेको अवस्थामा दूध बढाउने अन्य कार्यक्रम लगेर जोनमा परिणत गर्ने गरी प्रदेशले कार्यक्रम अघि सारेको उहाँ बताउनुहुन्छ । जोनभित्र एक दुई वटा पशु पाल्नेहरुलाई एकीकृत गरी एकै ठाउँमा एकै व्यक्तिले हेर्ने गरी कम लागतमा दूध उत्पादन गर्न उत्प्रेरणा समेत यसै कार्यक्रम मार्फत् गरिंदै छ । जोनभित्रका दक्ष र अनुभवी कृषकहरुलाई साना किसानलाई सीप आदानप्रदान गर्ने गरी कार्यक्रम अघि सारिएको छ । अनुभवी किसानको फार्मलाई लाईभस्टक ईपिसेन्टरको रुपमा विकास गर्ने योजना लिईएको उहाँले बताउनुहुन्छ ।
दूध जोनलाई विस्तार गर्दै लगेर समग्र प्रदेशलाई दूध उत्पादनको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिईएको छ । पाण्डेले भन्नुभयो “किसान र हामी सँगसँगै दूध उत्पादन बृद्धि गर्न लाग्ने गरी जोनको विकास गर्दैछौं ।”कृषि तथा पशुपक्षी विकास मन्त्रालय बागमती प्रदेशद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन क्षेत्र निर्धारण गरिएको हो ।

चितवनका भरतपुर महानगरका ८ वटा वडा र रत्ननगरका ११ वटा वडा गरी १९ वटा वडालाई दुई वटा दूध जोन क्षेत्र निर्धारण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीका अनुसार भरतपुरको वडा नं–१३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन क्षेत्र निर्धारण गरिएको छ ।

यस्तै, रत्ननगरका ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ नम्बर वडालाई दूध जोन क्षेत्र तोकिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन बृद्धिमा सघाउने बताउनुभयो । उहाँले किसानहरुले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको भन्दै यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो माग हो । यसले परिणाम दिन्छ । जुन विधि अपनाईएको छ, यो अत्यन्त राम्रो छ ।”

दूध उत्पादन बृद्धिका लागि महत्वपूर्ण हुने भन्दै यसले साना किसानलाई व्यवसायिक बनाउन प्रेरणा दिने बताउनुभयो । यो कार्यक्रमसँगै बाच्छि हुर्काउने कार्यक्रम थप गर्न आफूहरुले माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बाच्छि हुर्काउने कार्यक्रम भयो भने भारतबाट गाई आयात गर्नु पर्दैन ।”

प्राविधिकको प्रत्यक्ष निगरानीमा जोन कार्यक्रम सञ्चालन भईरहेको भन्दै उहाँले यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यो कार्यक्रमसँगै उत्पादन बढ्ने अपेक्षा किसानको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !