चितवनः चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका २५९ वटा अण्डा संकलन गरेको छ । बगरमा भेटिएका मध्ये नौ वटा गुँडबाट अण्डा संकलन गरिएको हो ।
खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । गोही प्रजनन् केन्द्र हेर्दै आउनु भएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौ वटा गुँड मध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सितामाई घाटसम्म अण्डा संकलन गरिएको हो ।
गोही प्रजनन् केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन् केन्द्रका ३ वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत दुई वर्ष प्रजनन् केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन् केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।
प्रजनन् केन्द्रमा गोहीको संख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र संकलन गरिएको हो । गतवर्ष ५६३ वटा अण्डा संकलन गरिएको थियो । ती अण्डाबाट ४९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आईपुग्दा ती मध्ये ३ सय हाराहारी मात्रै जीवित छन् । मगरले प्रजनन् केन्द्रमा ६४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा संकलन गरिएको बताउनुभयो । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ ।

प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म १ हजार ८५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा १ हजार १३२ वटा गोही नदीमा छाडिएको छ । यस्तै नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ । पछिल्ला दिनहरुमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिंदै आएको छ । नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !