
चितवन : प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले चितवनका पोल्ट्री व्यवसायी एवं कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कंडेलको मृत्यु प्रकरण बारे संसदको ध्यानाकर्षण गराउनुभएको छ ।
आज शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले संसदको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कंडेलको मृत्युु प्रकरणका आरोपित प्रदीप रुङ्गाटालाई यथाशीघ्र पक्राउ गरि कारबाहीको माग गर्नुभयो ।
रुङ्गाटाले आर्थिक हिनामिना गरेकै कारण कंडेलले आत्महत्या गर्न बाध्य भएको उहाँले संसदमा जानकारी गराउनुभयो । छानबिन समिति बनाएर रुङ्गाटाले गरेको आर्थिक हिनामिनाको छानबिन गरिनुपर्ने सांसद श्रेष्ठको माग थियो ।
कंडेलले भरतपुर महानगरपालिका-३ स्थित आफ्नै कार्यालयमा गत मंगलबार देहत्याग गरेका हुन्। उनले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ। उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गाटा फरार छन्। रावल कंडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुंगाटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन्।