चितवनः सौराहामा एक महिना अघि हात्तीको सूँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राती पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले पालेको चन्चलकली नामको हात्तीको सूँड काटिएको थियो । राती ११ः३० वजे हात्ती सारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हत्तियार प्रहार गरि काटिएको थियो ।
घटना लगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रकृया सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अनुसन्धान भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “मानिस पक्राउ परिसकेको छैन । अनुसन्धान भईरहेकाले थप केही भन्न मिल्दैन ।” निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरि सहयोग समेत लिइरहेको छ । तिवारीले अभियुक्त पक्राउ पर्नेमा ढुक्क रहेको भन्दै यस्ता अपराधिक घटनाका अभियूक्तलाई पक्राउ गरि कारवाही गरिने बताउनुभयो ।
व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआए सम्म भन्ने अबस्था नरहेको बताउनुभयो । हात्तीको अबस्था सुधार हुँदै गएको छ । सूँडले घाँस खान नमिले पछि माउतेले हातले खुवाउँदै आएको छ भने पानी हात्तीले आफै खाएको उहाँले जानकारी दिनुभयो । खतिवडाले भन्नुभयो “पानी खान सकेको छ । घाँस टिप्न सकेको छैन । घाउ ७० प्रतिशत ठिक भयो ।” पशु प्राबिधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !