काठमाडौँ,नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो ।

कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !