चितवनः बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैंडा मरेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हाल सम्म ती गैंडा मरेका हुन ।
निकुञ्जका अनुसार मरेका गैंडामा ६४ वटा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ वटा दलदलमा फसेर र बाढीले वगाएर मरेका हुन । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ वटा गैंडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २० वटा, चोरी शिकारीबाट ९ वटा, बिद्युतीय करेन्ट लागेर ८ वटा, बिरामी तथा रोगी भएर १२ वटा, खाडलमा परी ३ वटा, बिष सेवनले ५ वटा, कारण नखुली मरेका २९ वटा रहेको उहाँले जानकारी दिनुभयो ।
तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैंडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैंडा मरेका हुन । आर्थिक वर्ष २०७२÷०७३ देखि यता निकुञ्जमा सबैभन्दा बढि गैंडा आर्थिक वर्ष २०७५÷०७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आर्थिक वर्षमा ४३ वटा गैंडा मरेका थिए । सबैभन्दा कम आर्थिक वर्ष २०७२÷०७३ मा १४ वटा गैंडा मरेको तिवारीले बताउनुभयो । तिवारीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा २५ वटा, आर्थिक वर्ष २०७४÷०७५ मा २६ वटा, आर्थिक वर्ष २०७६÷०७७ मा २६ वटा, आर्थिक वर्ष २०७७÷०७८ मा ३३ वटा र आर्थिक वर्ष २०७८÷०७९ मा ३७ वटा गैंडा मरेका छन् । चालु आर्थिक वर्षको हाल सम्म १६ वटा गैंडा मृत अबस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५÷०६६ देखि आर्थिक वर्ष २०७९÷०८० सम्म ३२३ वटा गैंडा मरेका छन् ।
निकुञ्जमा गैंडाको संख्या वढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको संख्या धेरै रहेको तिवारीले वताउनुभयो । गैंडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा बिभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !