
चितवनः चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै बढी बढी पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ पर्यटक निकुञ्ज भित्रिएका हुन् । यो संख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटक मध्ये १ लाख ५९ हजार ७०८ नेपाली, ३९ हजार ४०५ विदेशी, २२ हजार ३९० सार्क राष्ट्रका पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा रु.१९ करोड ८ लाख ४३ हजार ८४४ संकलन भएको छ ।
आर्थिक वर्ष ०७८÷०७९ मा १ लाख ९० हजार ४५८ जना पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आर्थिक वर्षमा रु.११ करोड ४९ लाख ९७ हजार ४१३ राजश्व संकलन भएको छ । यसैगरी आ.व.०७७÷०७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिंदा रु.३ करोड ५० लाख ८३ हजार ३७६ राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा १ लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आर्थिक वर्षमा रु.१९ करोड ९२ लाख ५५ हजार ६८१ राजश्व संकलन भएको छ ।
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आर्थिक वर्ष २०३१÷०३२ बाट निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो । त्यसवर्ष ८३६ जना पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ । जसबाट रु.१ लाख ४० हजार २९८ राजश्व संकलन भएको थियो । दोस्रो वर्ष अर्थात् आर्थिक वर्ष ०३२÷३३ मा २ हजार २०६ पर्यटक निकुञ्ज छिरेका थिए । जसले रु.२ लाख १ हजार ४२१ राजश्व बुझाएका थिए ।
पर्यटकको संख्याको हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको संख्या बढी भएकाले राजश्वको हिसाबले भने आर्थिक वर्ष २०७५÷०७६ संकलन भएको रु.२९ करोड ४४ लाख ६६ हजार ६४० अहिलेसम्मको सबैभन्दा बढी हो ।
निकुञ्ज प्रवेश गर्ने नेपालीले रु.१५०, सार्क देशकाले रु.१ हजार र अन्य देशकाले रु.२ हजार राजश्व बुझाउने गर्दछन् । तिवारीले भन्नुभयो “पहिले पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजश्व बढी हुन्थ्यो, अहिले नेपालाी पर्यटक बढी हुने भएकाले राजश्व कम पर्यटकको संख्या बढेको छ ।” सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका कारण पर्यटकको संख्या बढ्न सकेको थिएन ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताउनुभयो । सन् २०२४ साललाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उहाँले निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताउनुभयो । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई संघको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उहाँको भनाई छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाई लम्ब्याउनु पर्ने बताउनुभयो । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उहाँले थप पर्यटक भित्र्याउन व्यवसायीहरुले समेत योजना ल्याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैं सहकार्य गर्न तयार छ ।”
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकको समेत बढ्दो हुने गर्दछ । यद्यपी अन्यत्रको तुलनामा यो संख्या निकै न्यून हो ।
हालै जिल्लामा प्याराग्लाईडिङ, क्रुजसिप र गैंडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाई जंगल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिहरुमा पर्यटक रमाउने गर्दछन् ।