गैंडाकोटः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको बिकासमा नीजि क्षेत्रसंग सहकार्य आबश्यक रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याईएको मौलाकाली केवलकारको आज उद्घाटन गर्नुहुँदै उहाँले उत्पादन बृद्धि र रोजकार सृष्टिका लागि नीजि क्षेत्रसंग सहकार्य गरेर सरकार अघि वढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “नीजि क्षेत्रसंग अर्थपूर्ण सहकार्य नगरे सम्म देशले आर्थिक बिकासमा गति लिन सक्दैन । हाम्रोले अहिले जोड उत्पादन बृद्धि रोजगार सृष्टि गर्ने कुरालाई दिएका छौ ।” आजको युगमा यी सबै सरकारले पुरा गर्न सक्ने कुरा होईन भन्दै उहाँले नीजि क्षेत्रले मात्रै उत्पादन बृद्धि र रोजगारी सृष्टिको काम गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “त्यो वातावरण वनाईदिने जिम्मा राज्यको हुनु पर्दछ । राज्यले त्यसका निम्ती आबश्यक ऐन, कानुन, भौतिक बिकास, शिक्षा स्वास्थ्यमा लगानी वढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।”
संघीय सरकारका तर्फबाट नीजि क्षेत्रलाई परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मिहनत गरिरहेको भन्दै उहाँले परिणाम न निस्किदा सम्म त आँफुले धेरै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो “मलाई बिश्वास छ परिणाम निस्कन्छ । हामीले जनतामा निरासा वाढ्ने काम रोक्नु पर्छ ।” सरकारले बिद्यार्थी भर्ना हुनु अघि बिकट गाउँ सम्म पुस्तक पु¥याएको, राहधानी र लाईसेन्समा सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो । बिदेशमा गएका लाखौ नेपाली सामाजीक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरे संगै युवाहरु त्यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो । पछिल्लो समय रेमिट्यान्स वढ्दो क्रममा रहेको भन्दै उहाँले अझ बढाउने तयारीमा सरकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ राजस्व वढ्दै छ । अझ वढाउने तयारीमा हामी छौ । बिदेशी मुद्धाको संञ्चीति उत्साह प्रदक छ । त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दै छौ ।” बैंक व्याजदर घट्दो क्रममा रहेको भन्दै उहाँले यहि महिनाको अन्त्य सम्म अझै घट्छ भन्नुभयो । उहाँले थप्नुभयो “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने बिकास भन्ने कुरा मुस्किल र चुनौति पूर्ण हुन्छ ।” कहिले काहि बिकास गर्न जोखिम उठाउनु पर्ने भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो “चन्द्रजीले जोखिम उठाएर गर्ने गर्नुभएको छ । उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु । राज्य तपाईहरुको पक्षमा छ भन्न चाहान्छु । सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”
चन्द्रागिरिमा केवलकार सुरु हुँदै गर्दा भूकम्पका कारण अर्थतन्त्रको अबस्था निकै कम्जोर रहेको प्रसंग कोट्याउँदै उहाँले त्यतिवेलानै आँफुले उद्घाटन गर्दै गर्दा यसले देशको अर्थतन्त्रमा र देशको समग्र रुपान्तरण प्रकृयामा राम्रो योगदान गर्छ भनेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “त्यस पछि धेरै मेहनत गरेपछि हाम्रो आर्थिक बृद्धिद्धर ७ दशमलब ५ प्रतिशत पुग्यो ।” नेपाल अहिले पनि आर्थिक दवावमा रहेको बताउँदै उहाँले क्रमिक सुधार आउने, र लय पक्डीने बिश्वास आँफुले लिएको बताउनुभयो । अफ्ठ्यारो परिस्थितिमानै जोखिम उठाएर बिकास परियोजनाहरुलाई अघि वढाउने आँट ढकालले गरेको भन्दै उहाँले सातै प्रदेशका एउटा एउटा पर्यटकीय क्षेत्रमा केवलकार पु¥याउने उहाँको योजनाको तारिफ गर्नुभयो । मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिक स्थल भएको भन्दै उहाँले तीन जिल्लाको संगमको रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबै तिर फैलने बताउनुभयो । धार्मिक, संस्कृति पर्यटन प्रबर्धनका दृष्टिकोणले र ऐतिहासीक संस्कृति सम्पदाहरुलाई जनताको आबश्यकतासंग जनताको जीवन, सम्बृद्धिको आकक्षासंग जोड्ने परियोजनाको रुपमा यसलाई आँफुले लिएको बताउनुभयो । यी परियोजनाहरु नीजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहारण भएको उहाँले बताउनुभयो ।
तराई मधेस देखि पहाड हिमालसम्म हजारौ ऐतिहासिक सांस्कृतिक र धार्मिक स्थलहरु रहेको भन्दै उहाँले तीनिहरु कयौंको अझै उत्खनन हुन र स्थापित गर्न बाँकी रहेको दाहालले बताउनुभयो । मौलाकालिकाको ऐतिहाशिक र धार्मीक महत्वको चर्चा गर्दै उहाँले भन्नुभयो “आज केबुल कारको उद्घाटन गर्दै गर्दा यो क्षेत्र देश भरीका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुन पुग्यो । यो कार्यक्रम सुनिराख्नु भएका र हेरी राख्नु भएका दाजुभाई दिदि बहिनीहरु एक चोटि मौलाकालिका जानै पर्छ ।” यस क्षेत्र धेरै हिसाबले बहुआयामीक रहेको उहाँले बताउनुभयो । यस क्षेत्रलाई बिशेष आर्थिक क्षेत्रको रुपमा बिकास गर्नुपर्ने उहाँको भनाई थियो । चितवन तर्फ मात्र नभएर नवलपरासी तर्फ पनि नारायणी नदीको तटिय क्षेत्रमा तटवन्धनको गृहकार्य अघि वढेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । “यो अत्यन्तै पुरानो धार्मिकस्थल हो” उहाँले भन्नुभयो, “यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।” मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्नेहरु बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पु¥याउने उहाँले बताउनुभयो ।
केबलकार उद्घाटन समारोहमा मन्तव्य राख्दै नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रतिनिधिसभा सदस्य प्रा.डा. शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामाकरण हुनुपर्ने बताउनुभयो । “देश सङ्घीयतामा गएको ६ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामाकरण हुन सकेको छैन” प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भन्नुभयो, “यस जिल्लाका नामाकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू ।” भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने भन्दै यसकोसमेत स्तरोन्नती गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ती भइसकेको भन्दै त्यसका लागि बजेट पार्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो ।
स्थानियको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब रु दुई अर्ब रहेको अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको भन्दै अध्यक्ष ढकालले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र अघि बढिरहेको बताउनुभयो । उहाँले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भन्दै केबलकार र होटलमा गरी करिब २०० जनालाई प्रत्यक्ष रोजगार सिर्जना गरिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घकोसमेत अध्यक्ष रहनुभएका ढकालले नवलपुरमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताउनुभएको छ । उहाँले नेपालका सात वटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रकृया अगाडि बढाइसकेको बताउनुभयो । “बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रकृया अघि बढाएका छौँ” उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो ।”
मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ ।

प्रतिक्रिया दिनुहोस !