चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटन प्रर्बधनका लागि प्याराग्लाईडिङ्ले ठूलो मद्धत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अबसर पारि उडान सुरु गरेको प्याराग्लाईडिङ्को आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “चितवनमा पर्यटन बिकासका लागि प्याराग्लाईडिङ्ले थप मद्धत पुग्छ ।”प्याराग्लाईडिङ् साहासी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो खेल सुरक्षित र साहासी खेल हो ।” आँफु पनि मौका मिलाएर यहाँ आएर खेल्ने उहाँले बताउनुभयो । साहासी खेलहरु मध्ये सुरक्षित मानिएको खेल भएको उहाँको भनाई थियो । युवा उद्यमीहरुको पहलमा भएको यस कार्यले खुशि लागेको उहाँले बताउनुभयो । नेपालले अन्तराष्ट्रिय स्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरि यो खेल आएको उहाँले बताउनुभयो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । प्याराग्लाईडिङ्का लागि तोकेको मापदण्ड पुरा गरी सुरक्षित रुपमा खेलाईनु पर्ने उहाँको भनाई थियो ।
पर्यटकीय दृष्ट्रिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिबिधि वढाउने उद्धेश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यवसायीक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा प्याराग्लाईडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष बिजय वहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान शुरू गरिएको हो ।
जंगल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यको रुपमा बसाई लम्व्याउन सकिने गरि प्याराग्लाईडिङ् सुरु गरिएको उहाँले बताउनुभयो । समुन्द्रि सतहबाट १ हजार २ सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरि प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो ।
हाल १० वटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ सालमा बिदेशीले यहाँ उडान भरेको पाईन्छ । पोखरा र यहाँमा छुट्टै बिशेषता रहेको घलेको भनाई छ । पोखरामा ताल माथि उड्ने, हिमाल देखिने लगाएतका कारण छुट्टै रमाईलो रहेको बताउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशुली नदी माथिको उडानले अझै महत्वपूर्ण रहेको बताउनुभयो । बिगत ७ वर्ष देखि अनुभव संगालेका चालकहरुबाट उडान गरिने प्याराग्लाईडिङबाट डाँडाकाँडा देखि खोला नालाको सुन्दर दृश्य हेर्न सकीने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।