चितवनः कोभिड १९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योगहरु प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड १९ का कारण चार महिना गरिएको लकडाउनका क्रममा ६३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका छन् । यस अबधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिक रुपमा सञ्चालनमा रहेको र १३ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अराष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारहरुले विना सुविधा आँफुले गरिरहेको काम छोड्नु परेको छ भने ६० प्रतिशत कामदारले विना तलब, सुविधा अस्थायीरुपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिईयो । यस्तै ११ प्रतिशत कामदारको तलब सुबिधा आंशिक रुपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयमा भन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिनुभयो ।
अहिले देशभर ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन् । जस मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा, विद्युत, ग्याँस, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलावहरुका क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठान रहेका छन् । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुमा ठूला उद्योग ५ हजार १७, साना उद्योग ५१ हजार ५९४ वटा रहेको कार्यक्रममा जानकारी दिईयो । जनशक्तिको आधारमा उद्योगलाई बर्गिकरण गरिएको धितालले वताउनुभयो । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुमा ३ लाख ८१ हजार ६८७ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यी उद्योगहरुमा तलव र ज्यालामा गरि रु १ खर्ब ७ अर्ब ८९ करोड खर्च गर्ने गरेको तथ्याङ्क सार्बजनिक गरिएको छ ।
नेपालका उद्योग प्रतिष्ठानहरुले गरेको उत्पादन ३९ दशमलब ९ प्रतिशत पूर्ण रुपमा उपयोग गरेका छन् । यस्तै १८ दशमलब ७ प्रतिशले ७५ देखि ९९ प्रतिशत, २९ दशमलब १ प्रतिशतले ५० देखि ७४ प्रतिशत, १० दशमबल ३ प्रतिशतले २५ देखि ४९ प्रतिशत उपभोग गर्ने गरेको सो अबसरमा जानकारी दिईयो । २ प्रतिशतले २५ प्रतिशत भन्दा कम उपभोग गर्ने गरेका छन् । साना उत्पादनशिल उद्योगहमा ऋणको अबस्था खासै नरहेको पाईएको छ । ६० प्रतिशत उद्योगहरुले ऋण नलिएको, ऋण लिने प्रकृयामा रहेका ५ प्रतिशत, ऋणको प्रतिवद्धता प्राप्त गरेको १ प्रतिशत र ऋण लिनेको संख्या ३४ प्रतिशत रहेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिब डिल्लीराज जोशी, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ चितवनका उपाध्यक्ष युवराज ओस्ति, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोद शरण आचार्य, तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ती भण्डारी लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !