चितवनः गत बैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्बी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सरकारी अधिकारीहरु आएर नष्ट गरे । खोरका बिभिन्न उमेरका १ लाख १४ हजार ६८८ कुखुरा, १ लाख ३० हजार गोटा अण्डा, १३ हजार ५ सय किलो दाना, ५२ हजार क्रेट संगै औषधि लगाएतका सामग्री नष्ट गरियो ।
सरकारले बिगतमा झै राहत दिने आशामा अर्यालले केहीमहिना खोर खालि गरेर कुखुराका चल्ला राख्नुभयो । उहाँको हिशाबमा सरकारले राहत बापत रु ८ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यही अनुसार खोरमा उहाँले १ लाख २२ हजार कुखुरा राख्नुभयो । केही ऋण बैंकले थप्यो । केही सर सापट चलाउँदै अघि वढ्नुभयो । अझै सम्म पनि राहत रकम नआए पछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ । कुखुरा बचाउनका लागि हार गुहार गरेर ल्याईएका दाना, औषधि लगाएतको रकम तिर्न उहाँले सक्नु भएको छैन । त्यसो त, काम गर्ने मजदुर बिजुली, पानी आदीका खर्च धान्न मुस्किल हुँदै गएको छ ।
बिस्थापनको अबस्थामा पुग्नुभएका अर्यालले पेशा जोगाउनका लागि गरेको मेहनतमा सरकारले सहयोग नगरेको उहाँको गुनासो रहेको छ । उहाँले भन्नुभयो “राज्यले हामीलाई नहेर्दा हामी निकै पिडित वन्न पुगेका छौ ।” वर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्स पालक कृषक प्रभावित वनेका छन् । नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष बिनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरु बिस्थापित हुने अबस्थामा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कयौं कृषकहरुको खोर खाली छ । बैंकमा ऋण तिर्न नसक्दा कालो सूचीमा निस्कने अबस्थामा पुगेको छ ।” खोरमा कुखुरा राखेकाहरुले पनि बचाउन सक्ने अबस्थामा नपुगेको उहाँको भनाई छ । बर्डफ्लुबाट धेरै लेयर्स कुखुरा पालक कृषक प्रभावित भएको भन्दै उहाँले यो व्यवसाय वचाउनका लागि तत्काल सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
पोल्ट्रि व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले नहेरे आउँदो बैशाख पछि व्यवसाय नै धराप भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा अब कुखुरापालन व्यवसाय आत्मनिर्भर हुन नसक्ने अबस्थामा पुगेको छ ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुरले गत साउन २६ गते क्षतीको बिबरण पशु सेवा बिभागमा पठाएको भए पनि पिडित कृषकले अहिले सम्म राहत पाउन नसकेका हुन ।
कार्यालयका अनुसार वि.सं. २०७८ साल कात्तीक १२ गते देखि २०७९ असार ७ गते सम्म जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको थियो । बर्डफ्लुका कारण ४७ जना कृषकले पालेका पंक्षी नष्ट गरीएको थियो । जसका कारण ३ लाख ७२ हजार ६१२ पंन्छि नष्ट गरीएको होे । बर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएको कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न उमेर समुहका लेयर्स कुखुरा ३ लाख ५८ हजार १११ वटा नष्ट गरिएको थियो ।
यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३ वटा, कडकनाथ ८९६ वटा, ब्रोइलर ८९६ वटा, टर्की ५ सय वटा नष्ट गरीएको थियो । लोकल कुखुरा १३२ वटा, हाँस ३६ वटा, बट्टाई ८ वटा नष्ट गरीएको न्यौपानेले जानकारी दिनुभयो । सोही क्रममा लेयर्स कुखुराको अण्डा ५ लाख ५० हजार ७९१ वटा, प्यारेन्ट अण्डा १ लाख ७८ हजार ५६४ वटा, क्रेट १ लाख २८ हजार ९२० वटा नष्ट गरीएको थियो । दाना ९४ हजार ७२८ किलो, टर्कीको अण्डा ६ हजार ३ सय वटा, हाँसको अण्डा २० वटा, अण्डा राख्ने काटुन २ हजार ५ सय वटा, डाला ६६० वटा, टर्कीको मासु १२० किलो र कुखुराको मासु ४० किलो नष्ट गरीएको न्यौपानेले जानकारी दिनुभयो ।
वर्डफ्लुका कारण चितवनमा मात्रै रु ४५ करोड हाराहारीको क्षती भएको अनुमान गरी बिभागमा सिफारीस गरिएको छ । उहाँले भन्नुभयो “संख्या र उमेर अनुसार क्षतीको मूल्याङ्कन गरि पठाईएको छ ।” राहत आउन ढिला हुनुको कारण आँफुहरुलाई समेत जानकारी नभएको उहाँले बताउनुभयो ।
पशु सेवा बिभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले पाण्डेले आँफुहरुले अर्थमन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सरकार फेर वदलका कारण केही ढिलाई भएको हो । हामी यस बिषयमा लागि रहेका छौ ।” उक्त देशभरका १५ जिल्लामा बर्डफ्लुको समस्या देखिएको बताउँदै उहाँले कृषकहरुलाई क्षतीको ७५ प्रतिशत राहत दिने व्यवस्था भएको बताउनुभयो । यसका लागि अर्थमन्त्रालयले रु ५८ करोड बढिको रकमका लागि सुनिश्चित गर्नुपर्ने भएकाले केही ढिला भएको उहाँको भनाई छ । आँफुहरुले राहतका लागि सो रकम सिफारीस गरीसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !