चितवनः नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा विद्युत भूमिगतको तथा सुदृढिकरणको काम माघ १६ गतेबाट सुरु गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण, माटो परीक्षण लगायतका कामहरु सम्पन्न भएका छन् ।

आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुवाती चरणमा आन्तरिक तयारीका कारण काम शुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री बिदेशबाट ल्याउनु पर्ने भएकाले काममा केही समय लागेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भईरहेको छ ।” कामको सुरुवात केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उहाँले बताउनुभयो ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ्, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत लाईन भूमिगत गर्ने काम हुने छ । रु १ अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको छ ।

भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ ।

सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उहाँले जानकारी दिनुभयो । सन् २०२२ जनवरीबाट लागु हुनेगरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

उक्त आयोजनाको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १८ गते शिलन्यास गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिगत विद्युतीकरणको काम अब तीब्र गतिमा हुने बताउनुभयो । तत्कालिन समयमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनु भएका अध्यक्ष दाहाल र महानगरको विशेष पहलमा आयोजना यहाँ ल्याईएको थियो । उहाँले यो निर्माण सम्पन्न भएसँगै भरतपुरको सौन्दर्यकरणमा थप टेवा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “यो भरतपुरको गौरवको आयोजना हो, यसलाई सबै मिलेर सफल बनाउनु पर्छ ।” आयोजना सम्पन्न गर्न आवश्यक सहजीकरण महानगरले शुरुदेखि नै गर्दै आएको छ । पटकपटकको प्रयासपछि यो आयोजना भरतपुरमा आएको भन्दै उहाँले यो काम सम्पन्न भएसँगै महानगरका शहरी क्षेत्रमा विस्तारका लागि पहल गरिने बताउनुभयो । प्रमुख दाहालले आफ्नो पहिलो कार्यकालमा पर्न सफल भएका गौरवका आयोजना मध्ये यसलाई महत्वपूर्ण आयोजनाका रुपमा लिएको बताउनुभयो ।

आयोजना सम्पन्न भएसँगै विद्युत, टेलिकम, इन्टरनेट लगायतका तारका कारण कुरुप देखिएको शहरी क्षेत्र सुन्दर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस !