चितवन – वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा यस नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरुको भिड नै लाग्न थालेको छ ।
यसवर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो । उहाँले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको अध्यक्ष जानकारी दिनुभयो ।
२०७६ सालमा एउटाबाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी र मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।
यस्तै, साना मोटर बोटमा ६ देखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ र लामो दूरीमा प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ । त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।
नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताउनुभयो । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।
नदी किनारमा घुम्न आउने प्रायजसाे आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालीका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।






