डा.रामप्रसाद सापकोटा

महिनावारी हुने भनेको महिलाको लागि शारीरिक परिवर्तन मात्र नभएर एक सुखद् अनुभुति पनि हो । खासगरी, पाठेघर दिमाग र डिम्वासयका हर्मोनहरुको सन्तुलित सूचनाको आदानप्रदानले मात्रै महिनावारी नियमित हुने गर्दछ । तसर्थ महिनावारी शुरु भएको पहिलो दुई वर्ष र महिनावारी सुक्ने समयतिर यी हर्माेनहरुका असन्तुलित आदानप्रदानले गर्दा महिनावारी गडबड हुने गर्दछ ।

सामान्यत महिनावारीको एक पूरा चक्र औषतमा २८ दिनको भए पनि २१ देखि ३५ दिनको चक्रलाई सामान्य मानिन्छ । औसतमा एक चोटी महिनावारी हुँदा ४ देखि ५ दिनसम्ममा दुईदेखि तीन टेवलचम्चा (४० देखि ५० एमएल) सम्म रगत बग्ने गर्दछ । धेरैजसो महिलाहरूमा १२ देखि १५ वर्षसम्म पहिलो पटक महिनावारी हुने गर्दछ र ४० देखि ५५ वर्षको उमेरमा जुनसुकै बेला पनि महिनावारी सुक्न सक्दछ ।

हामीकहाँ परामर्श र उपचारका लागि आउने एक तिहाई बिरामी त महिनावारी गडबडीकै कारणले आउने गर्नुहुन्छ । तथापि महिनावारीको पूरा चक्र, रगतको मात्रा र रगत बग्ने अवधि हरेक व्यक्तिपिच्छे फरक–फरक हुने हुँदा महिनावारीको कुन चाहि अवस्था असामान्य हो भनेर थाहा नहुँदा धेरैजसो महिलाहरु कस्तो अवस्थामा चिकित्सककोमा परामर्शका लागि जाने भन्ने अलमलमा परेको पाईन्छ ।

कस्तो अवस्थामा जाने त चिकित्सककोमा ?

१.    सामान्य अवस्थामा १२ वर्षभन्दा अघि र १५ वर्षसम्म पनि महिनावारी नभएमा ।
२.    एक घण्टामा एकभन्दा बढी प्याड फेर्नु परेमा ।
३.    पहिले प्रयोग गरेकोभन्दा दुई गुणा बढी प्याड फेर्नु परेमा ।
४.    रातीको समयमा प्याड फेर्नु परेमा ।
५.    सात दिनभन्दा बढी रगत बगेमा ।
६.    रगत ढिक्काढिक्का भई बगेमा ।
७.    रगत बगेकै कारणले दैनिक गर्ने काममा बाधा पुगेमा ।
८.    अल्छि या थकान महसुस भएमा या श्वास फेर्न गाह्रो भएमा ।
९.    २१ दिनभन्दा चाँडो र ३५ दिनभन्दा ढिलो गरी महिनावारी भएमा ।
१०.  अनुहार, चिउँडो, पेट, छाती आदिमा रौँ बढी आएमा ।
११.  शारीरिक सम्पर्कपछि रगत देखा परेमा ।
१२.  नियमित भईरहेको महिनावारी अचानक अनियमित भएमा ।
१३.  ४० वर्ष अघि नै महिनावारी सुकेमा वा ५५ वर्षपछि पनि महिनावारी भईराखेमा ।

हर्माेनल गडबडी, पोलिसिस्टिक ओभरियन सिण्ड्रोम, पाठेघरको ट्यूमर वा पोलिप, पाठेघर या पाठेघरको मुखको क्यान्सर, गर्भपतनको समस्या, परिवार नियोजनका साधनहरुको प्रयोग आदि महिनावारी गडबडी हुने प्रमुख कारणहरु हुन् ।

महिनावारी गडबडीका प्रकृति र कारणहरु अनेकन हुने हुँदा बिरामी स्वयंबाट लिईने जानकारी, शारीरिक एवं प्रयोगशाला आदिको परीक्षण पश्चात मात्रै खास समस्या पहिचान गरी उपचारको उत्तम विधि अपनाए बिरामीलाई अवश्य पनि लाभदायी हुनेछ ।

खासगरी किशोरावस्थामा उनीहरुका समस्याका बारेमा राम्रोसँग बुझेको व्यक्ति समेत सँगै चिकित्सककोमा गएमा परामर्श र उपचारमा सहज हुने गर्दछ ।

जीवनशैली परिवर्तन, तौल घटाउने, हर्माेनल र नन–हर्माेनल औषधिहरुको उचित प्रयोग र आवश्यक परे सर्जरीका विविध तरिकाहरुबाट समस्याको समाधान गर्न सकिन्छ ।

तर उपचार हुन सक्ने यस्ता समस्याहरु समेत लुकाएर अस्पताल जान नै डराउने र लाजका कारणले चिकित्सकसँग ढुक्क भएर खुल्लासँग समस्या बताउन हिच्किचाउने कारणले पटकपटक रोगको पहिचानमा नै ढिलाई हुने र उपचारमा कठिनाई आउने घटनाहरू हाम्रो समाजमा प्रशस्त भेटिन्छन् । तसर्थ उपचार नगरी कठिनाईका साथ जीवन जीउनुभन्दा चिकित्सकको परामर्शमा सबैजसो समस्याहरूको समाधान गरेर स्वस्थकर जीवन जीउनु नै बुद्धिमानी हो ।

(डा. सापकोटा  भरतपुर अस्पताल चितवनमा सिनियर कन्सल्टेन्ट गाइनोकोलोजिस्टको रुपमा कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस !