चितवन: भरतपुर महानगरपालिका वडा नं. ८ का नव निर्वाचित प्रतिनिधीहरुकाे पदस्थापन तथा निवर्तमान प्रतिनिधीहरुलाई विदाई कार्यक्रम सम्पन्न भएकाे छ । वडा नं. ८ मा नेपाली काँग्रेसवाट वडाध्यक्षमा जीवनाथ कँडेल,सदस्यमा पूर्णबहादुर रानाभाट, र दलित महिला सदस्यमा कमला सुनार विजयी हुनुभएकाे थियाे भने नेकपा एमालेबाट सदस्यहरुमा बरुण वस्नेत र सिर्जना पाैडेल निर्वाचित हुनुभएकाे हाे । कार्यक्रममा निवर्तमान वडाध्यक्ष दामाेदर न्याैपानेले नव निर्वाचित समितिले कुनै पार्टी नवर्निवाचित सवै वडावासिहरुमा समान व्यवहार गरेर अगाडि वढ्न आग्रह गर्नु भएकाे थियाे । न्याैपानेले आफ्नाे कार्यकालमा कसैलाई काखा पाखा नगरिकन काम गरेका कारण महानगर भरिकै उत्कृष्ट वडा वन्न सफल भएकाे बताउनुभयाे । नवनिर्वाचित टिमलाई आफुले सदैव साथ र सहयाेग गर्ने न्याैपानेकाे भनाई रहेकाे छ । नव निर्वाचित वडाध्यक्ष जीवनाथ कँडेलले निवर्तमान प्रतिनिधीहरुलाई विदाई गर्दै आगामि दिनमा आफू र आफ्नाे टिमले सवै वडावासीलाई समान व्यवहार गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे । अध्यक्ष कँडेलले पदभार ग्रहण गर्दै वडा भित्रका एकसय घरका गरिव निमुखा परिवारकाे स्वास्थ्य विमा निशुल्क गरिदिने घाेषणा गर्नुभएकाे छ । वडा कार्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कार्यवाहक वडा सभापति शाेभाखर सापकाेटा,पूर्व वडाध्यक्ष जगन्नाथ कँडेल, नेकपा माओवादी केन्द्रका वडा ईन्चार्ज विष्णु प्रसाद वास्ताेला, नेकपा एमालेका वडा प्रतिनिधि ऋषि भण्डारी, एकीकृत समाजवादीका प्रतिनिधि मिलन थापा लगायतले आ- आफ्नाे भनाई सहित शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । वडा नं. ८ का कार्यवाहक अध्यक्ष एवं वडा सचिव जयन्ती आचार्य अर्यालले स्वागत र कर्मचारी विनिता श्रेष्ठले सञ्चालन गर्नुभएकाे कार्यक्रममा वडाका राजनैतिक दलका प्रतिनिधि,वडा भित्र रहेका टाेल विकास संस्थाका अध्यक्षहरु,वडाका कर्मचारीहरु, वडावासीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम वडा नम्वर ८ का निवर्तमान अध्यक्ष दामाेदर न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !