चितवनः कारागार कार्यालय चितवनमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेका छन् । यहाँ रहेका ७ सय ४१ कैदी बन्दी मध्ये २ सय ८ जना जवरजस्ती करणीका रहेका हुन ।
जसमा १ सय ४८ जना कैदी र ६० जना बन्दी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उनीहरु मध्ये एक जना महिला बन्दी रहेकी छन् । कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार जवरजस्ती करणीमा रहेका कैदी बन्दी अधिकांश ४० वर्ष माथिका रहेका छन् । यस कारागारमा दोस्रो ठूलो संख्यामा लागुऔषध सम्बन्धि कसुरका कैदी वन्दी रहेका छन् । लागुऔषध सम्बन्धी कसुरका १ सय ४० जना रहेको उहाँले बताउनुभयो ।
जसमा १० जना महिला र १ सय ३० जना पुरुष रहेका छन् । उनीहरु २५ वर्ष भन्दा माथिका रहेको आचार्यको भनाई छ । यस्तै कर्तव्य ज्यान मुद्धामा १ सय २ जना रहेका छन् । उनीहरु ८१ जना पुरुष र २१ जना महिला रहेका छन् । गैंडाको खाग बिक्रि मुद्धाका ६९ जना, सवारी ज्यान मुद्धाका ५५ जना, चोरी मुद्धाका ४९ जना रहेको कार्यालयले जनाएको छ । यस्तै अन्य डाँका, ज्यानमार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव मेचबिखन, अपहरण तथा शारिरीक बन्धक, केही सार्बजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन÷प्रहरी, सम्पत्ती शुद्धिकरण र आगजनी मुद्धाका कैदी बन्दी रहेका छन् ।
आचार्यका अनुसार उनीहरु संगै २ जना आश्रीत नाबालिका रहेका छन् । यस कारागारमा चितवन सहि ३ जिल्लाका कैदी वन्दी रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर र नवलपुर जिल्लाका कैदी बन्दी धेरै चितवन आउने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सुबिधाका कारण चितवनमा कैदी वन्दी बढी आउने गरेको उहाँको भनाई छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदी बन्दीको चाप बढेको हो ।
यस कारागारमा क्षमता भन्दा बढी कैदी बन्दीहरु रहेका छन् । २ सय ५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६ सय ९० जना र २५ जना कैदी बन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना रहेका छन् ।