चितवनः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनको अध्यक्ष पदमा आफ्नो समर्थन दिपक आचार्यलाई रहेको बताउनु भएको छ । प्रेस युनियन चितवनको टोलीलाई प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको स्वागत कार्यक्रममा बोल्दै पौडेलले आचार्यलाई समर्थन गर्नुभएको हो ।

स्वागत कार्यक्रममा बोल्दै नेता पौडेलले आचार्यलाई भन्नुभयो “खुट्टा टेकेर अगाडि बढ्नुहोस्, मेरो समर्थन रहन्छ ।” आचार्यको जन्मघर पौडेलको निर्वाचन क्षेत्र तनहुँमा नै पर्दछ । युनियनको केन्द्रीय महाअधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंमा हुँदैछ । हाल बरिष्ठ उपाध्यक्ष रहनु भएका आचार्यले उक्त महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

विगत एक महिना यता युनियन चितवनले अन्तरशाखा भ्रमणसँगै आचार्यलाई अध्यक्षको उम्मेदवार रहेको भन्दै देश दौडाहा अभियान संचालन गरिरहेको छ । देशका विभिन्न जिल्लामा पुगेको आचार्यसहितको युनियनको टोलीलाई जिल्ला जिल्लाबाट समर्थन प्राप्त भएको युनियनका चितवन जिल्ला अध्यक्ष अनिल ढकालले बताउनुभयो ।

आचार्य तीन दशकदेखि पत्रकारिता र पत्रकारिताको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ युनियनको केन्द्रीय सदस्य, मध्यमाञ्चल संयोजक हुँदै हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँलाई युनियनका अधिकांश नेताहरुको साथ र समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस !