विराटनगरः राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताउनुभएको छ ।

नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उहाँले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताउनुभयो । “अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ”, उहाँले भन्नुभयो “फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।”

राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताउनुभयो । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी आफैंमा आपत्तिजनक नभएको भन्दै यसबारेमा उठेको आशङ्का र प्रश्नहरुको हल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !