चितवनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल शैलेस, सहसचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन हुनु भएको छ । पदाधिकारीमा महिला, दलित र जनजातिले भने स्थान पाएका छैनन् । नेकपा एमालेमा महिला नेतृ पार्वती रावलले नेतृत्व हस्तान्तरण गर्दैगर्दा पदाधिकारीमा महिलाको उल्लेख्य सहभागिता हुने अपेक्षा आम कार्यकर्ताको थियो ।

एक महिना लामो गृहकार्यपछि नेतृत्व चयन गरिएको हो । एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि आकांक्षा राख्नु भएको थियो ।

पार्टी सचिव शैलेश खनाल रामबहादुर थापा बादल समूहबाट प्रतिनिधि गर्नुभएको छ । उहाँ यसअघिको कमिटीमा पनि सचिव हुनुहुन्थ्यो । एकता प्रक्रियाबाट आएका झण्डै १५ जना जिल्ला कमिटीमा समेटिएको जनाईएको छ ।

एमालले भरतपुर महानगरपालिकाबाट २० पुरुष र १२ महिला, रत्ननगर नगरपालिकाबाट ७ पुरुष र ५ महिला, खैरहनी नगरपालिकाबाट ७ पुरुष र ५ महिला, राप्ती नगरपालिकाबाट ७ पुरुष र ५ महिला, कालिका नगरपालिकाबाट ५ पुरुष र ३ महिला, माडी नगरपालिकाबाट ५ पुरुष र २ महिला तथा इच्छाकामना गाउँपालिकाबाट ३ पुरुष र २ महिला जिल्ला कमिटीमा समेटिएका छन् । निर्वाचन क्षेत्रका आधारमा समेत जिल्ला कमिटीका सदस्यहरुको प्रतिनिधित्व गराइएको छ ।

नयाँ नेतृत्वलाई आज दिउँसो १ बजे पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !