चितवनःचितवन राष्ट्रिय निकुञ्ज भित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको नमुना घाँसे मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागमा प्रस्ताब पेश गरेको छ ।
निकुञ्जका उपयुक्त स्थानहरुमा बर्षै भरि व्यवस्थित गर्ने गरि घाँसे मैदान बनाउने प्रस्ताब गरिएको हो । प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बर्षमा तीन पटक व्यवस्थापन गर्ने गरि मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा रु १ करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान रहेको छ । हाल सम्म निकुञ्ज भित्रका घाँसे मैदान बर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी, मिचाहा प्रजाती फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ ।
आचार्य घाँसे मैदान आँफै वन्न दिनु पर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नु परेको बताउनुहुन्छ । उहाँको भनाईमा निकुञ्ज भित्रका घाँसे मैदान पहिलेका मानब बस्ति भएकाले मिचाहा प्रजाती, ढड्डी र बुट्यानहरु धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नु परेको हो । निकुञ्ज स्थापना हुनु अघि मानब बस्ति भएका क्षेत्रहरु पछि निकुञ्जको घाँसे मैदान बनेका हुन ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र ८ हजार ९ सय ९५ दशमलब २ हेक्टर घाँसे मैदान रहेको छ । त्यस मध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार चालु वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिदैं छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिदैं छ भने ३ सय आठ हेक्टर पुरानोलाई व्यवस्थापन गरिदैं छ । यस वर्ष घाँसे मैदान निर्माणका लागि रु २५ लाख र व्यवस्थापनका लागि रु ३८ लाख ३५ हजार बजेट निकासा भएको छ ।
तिवारीका अनुसार गत वर्ष ७ सय हेक्टर घाँसेमैदान निर्माण र ४ यस हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष रु ३ करोड ५० लाख र व्यवस्थापनका लागि रु ९९ लाख ५७ हजार खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । त्यस वर्ष घाँसे मैदान निर्माणमा रु ३ करोड १० लाख खर्च गरिएको थियो । व्यवस्थापनमा रु २८ लाख ९९ हजार खर्च भएको निकुञ्जले जनाएको छ । त्यस वर्ष ५७ दशमलब ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको तिवारीले वताउनुभयो । उहाँले भन्नुभयो “यो वजेट अत्यन्त न्यून भयो ।”
चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्ज भित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा बन्यजन्तु मानब बस्ति आउन सक्ने बताउनुभयो । घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जले खर्च गर्नु पर्ने उहाँको भनाई छ । निकुञ्ज भित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिंगे गैंडा र बाघका आहारा प्रजाती खानाका लागि मानब बस्ति प्रबेश गर्ने र दुःख दिने उहाँको भनाई छ ।
मानब र वन्यजन्तु बिचको द्धन्द्ध कम गर्नका लागि निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थित हुनु पर्ने बिज्ञहरु बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैंडा संगै बाघका आहारा प्रजातीहरु चित्तल, जरायो, बँदेल जस्ता बन्यजन्तुका लागि घाँसे मैदान आबश्यक पर्दछ । कोभिडका कारण पर्यटक घटे संगै मध्यबर्तीमा खर्च हुने रकम न्यून भएको छ । जसका कारण मध्यबर्ती सामुदायीक वनहरुले घाँसे मैदानमा खर्च गर्नका लागि बजेट अभाब रहेको छ । पर्या–पर्यटनमा काम गर्ने सामुदायीक वनहरुमा पर्यटक घुम्न न्यून आउँदा आम्दानी हुन पाएको छैन । यसले पनि दुर्लभ वन्यजन्तुको बास्वस्थान व्यवस्थापन राम्रो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !