बुटवलः रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी बुटवल १३ का अन्दाजी २७ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही स्थानका भागिरथ चौधरी र बुटवल १२ का अनिश जिसि घाइते भएका छन्।
उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चौधरीको अवस्था गम्भीर छ। पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको हो । ट्रक चालक फरार छन्।






