विराटनगरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने निर्णयमाथि प्रश्न उठाउँदै उहाँले सरकारले छलफल गर्नुपर्ने निकाय निर्वाचन आयोग भएको सम्झाउनुभयो ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले सरकार सुल्टो बाटोमा हिड्नुपर्ने बताउनुभयो । सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उहाँको भनाइ छ ।

कोइरालाले भन्नुभयो “ऐन–कानून परिवर्तन गरेर निर्वाचन सार्न हुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।” अर्को प्रसंगमा कोइरालाले कांग्रेसको १४औं महाधिवेशनमा पराजित पार्टीका सिनियर नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने बताउनुभयो। यसका लागि आफूले नेतृत्वलाई सुझाव दिने कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !