चितवनः आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रुपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्री जस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो ।
खाने कुराहरु अनाथालय, आश्रमहरुमा पठाईने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । १३ औं दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगीहरु बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् । पण्डित शेखर अर्याल समवेदनाको अर्थ लगाउँदै भन्नुहुन्छ “सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईहरु बराबर दुखी छु भन्ने हो ।” त्यही समवेदना प्रकट गर्न जाँदा क्रियापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनी जस्ता खाद्यान्न लगिने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला दिनहरुमा फ्रेम सहित समवेदनापत्र लग्ने गरिन्छ ।
पण्डित अर्याल गडुर पुराणमा भेटीका रुपमा के आवश्यक छ, त्यही वस्तु लैजानु पर्ने उल्लेख भएको बताउनुहुन्छ । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई ईङ्गित गर्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “भेटीका रुपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”
सामाजिक अभियान्ता मीना खरेलको गत वर्ष आमाको देहवसान हुँदा १७७ वटा फ्रेममा समवेदना पत्र प्राप्त भयो । ती फ्रेम १३ औं दिनपछि व्यवस्थापन गर्न जटिल बन्यो । घरको मन्दिरमा एक सय वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाईलमा राख्नु परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने ? ।” फ्रेमको सट्टामा समवेदना पत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । केही थप दिन मन लागे कोषमा राखिंदिंदा सदुपयोग हुने उहाँको भनाई छ ।
पछिल्ला वर्षहरुमा फ्रेम लैजाने प्रचलन बढेको उहाँ बताउनुहुन्छ । बि.सं. २०६० सालमा बुबा बित्दा तीन वटा फ्रेम आएकोमा अहिले निकै बढी फ्रेम आएको उहाँले जानकारी दिनुभयो ।
डा. हरिश्चन्द्र न्यौपानेले गत साल आमाको स्वर्गारोहणको बेला समवेदना प्रकट गर्न आउनेलाई फ्रेम नल्याउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “१३ औं दिनपछि आमाको तस्वीरलाई बोरामा राख्दा आमाप्रतिको सम्मान पनि घट्ने र लैजानेहरुप्रति अपमान हुने भएकाले हामीले फ्रेम नल्याउन आग्रह ग¥यौं ।” कतिपयले न्यौपानेले जस्तै गरी नल्याउन अनुरोध गर्ने गरेका छन् ।
भेटिका रुपमा संकलन हुने फलफूल कुहिएर खेर जाने गरेको पाईन्छ । न्यौपानेले आफ्नोमा संकलन भएका खाद्यान्न मानव सेवा सहितका विभिन्न आश्रमहरुमा पठाएर सदुपयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भेटिका रुपमा फ्रेम लगायतका सामग्री लैजाँदा पछि व्यवस्थापन गर्न जटिल हुन्छ ।” समवेदना प्रकट खाली हात गएर मौखिक रुपमा व्यक्त गरे हुने न्यौपानेको बुझाई छ ।
समवेदना व्यक्त गर्न आउनेहरुले भेटिका रुपमा ल्याउने चिनी, मिश्री जस्ता वस्तुहरु ठूलो मात्रामा संकलन हुने गर्दछन् । त्यस्ता वस्तुहरु सोही घरमा प्रयोग नभई आश्रमहरुमा दिने गरिन्छ । कतिपयले पसलमा बिक्री समेत गर्ने गर्दछन् । पण्डित अर्याल उपयोग नहुने वस्तु भेटिका रुपमा लैजानभन्दा खाली हात गएर मौखिक रुपमा समवेदना व्यक्त गर्नु राम्रो हुने बताउनुहुन्छ ।






