चितवनः वन्यजन्तु कोरिडोरमा लापरवाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधिन नालीको खाडलमा परेर आईतबार दुर्लभ एकसिंगे गैंडा मरेको थियो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैंडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) वा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआएए) गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाईएको छ । यस्तो कार्य गर्दा निकुञ्ज अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको राय अनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी समेत नदिएको आचार्यले बताउनुभयो ।

घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन शुरु गर्ने उहाँले जानकारी दिनुभयो । निकुञ्जले सडकलाई समेत पत्र पठाउँदै छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो ? सो विषयमा अध्ययन गर्न थालिएको उहाँको भनाई छ । शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो ? यस विषयमा बुझ्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “सडकले गर्न नहुने काम ग¥यो ।” वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीहरुको भनाई छ ।

डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो “नालाको क्यूरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो । त्यति नै बेला गैंडा खसेर घटना भयो ।” छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उहाँको भनाई छ ।

ठेक्का लगाउँदा पुल्चोकबाट ६ किलोमिटर आठ सय मिटर लम्बाई विस्तार गर्न लागिएकोमा सो ठाउँसम्म सडक पुगेको सापकोटाको भनाई छ ।

निर्माण कम्पनी इण्डो सगुन ज्वाईन्ट भेन्चरका सञ्चालक सहदेव खड्काले सडकले ठेक्का दिए अनुसार आफूहरुले काम गरेको बताउनुभयो । सो ठाउँमा माघ ४ गते निर्माणको काम गरेकाले अझै चार दिन पानीले भिजाउनु पर्ने भएकाले खाल्डो नपुरिएको बताउनुभयो ।

निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले सडकको लापरवाहीको कारण अन्दाजी १२ वर्षको भाले गैंडा मरेको बताउनुभयो । खाल्डोमा भएको रड पेटमा रोपिएर गैंडा उठ्न नसकी मरेको उहाँको भनाई छ ।

पशु अधिकारकर्मीहरुले लापरवाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण यस्ता घटना समय समय हुने गरेको बताएका छन् । पशु अधिकारकर्मी सुराजन श्रेष्ठले दिगो विकासका लागि प्रक्रिया पु¥याएर काम गर्नुपर्ने भए पनि वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री हुनुपर्ने बताउनुभयो । घटनाको अध्ययन गरी दोषीलाई कारवाही गर्नुपर्ने उहाँको भनाई छ ।

वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडक मुनिबाट वन्यजन्तु हिड्ने बाटो) र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निकुञ्जमा साउन यता २१ वटा गैंडा मरेका छन् । जसमध्ये दुई वटा चोरीशिकारीबाट मरेका हुन् भने अन्य प्राकृतिक र मानवीय लापरवाहीका कारण मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !