चितवनः कुनै समय चितवन तोरी खेतीका लागि प्रसिद्ध थियो । बीचको समयमा खासै यसतर्फ तर्फ चासो नदिएका किसानहरु पछिल्ला वर्षहरुमा विस्तारै यसतर्फ आकर्षित हुँदै गएका हुन् ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तेरी खेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा तोरीको खेती गरिएको थियो ।
कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष तोरी खेती गर्ने कृषकको संख्या बढेको छ । उहाँले भन्नुभयो “यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ जसले कृषकलाई आकर्षित ग¥यो ।” गहुँ लगाउने किसानहरु तोरी खेती तर्फ आकर्षित भएका कारण तोरी खेती गर्ने किसान बढेको उहाँको भनाई छ । छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तोरी खेती गरे पछि अन्य वाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।”
अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले बृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले तोरी खेती गर्न थालेका छन् । जंगली जनावरले खासै नोक्सान नपु¥याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उहाँले भन्नुभयो “तोरी बालिलाई हात्ती, गैंडा र चित्तलले खासै मन नपाउने भएकाले यस तर्फ कृषक बढ्दै गएका छन् ।”
माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी बिगत तीन वर्षदेखि तोरी खेती गर्दै आउनु भएको छ । त्यस अघि गहँु खेती गर्ने उहाँ जंगली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माईतीले तोरी लगाउन सल्लाहा दिएपछि यो खेती गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “जनावरले मकै, गहुँ लगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ ।” उहाँले अहिले एक विगाह क्षेत्रफलमा तोरी खेती गर्दै आउनु भएको छ ।
अहिले माडीको वडा नम्बर ३ बैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरी खेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण वढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताउनुभयो । उहाँले भन्नुभयो “निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षती नपु¥याउने बालीको रुपमा तोरी खेती गरिएको हो ।”उहाँले अहिले १२ कठ्ठा क्षेत्रफलमा तोरी खेती गर्दै आउनु भएको छ । यहाँका कृषकहरु अहिले समूहत रुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको संख्या बढेको उहाँले बताउनुभयो ।
अहिले यस क्षेत्रमा मात्रै २ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम बर्ष सञ्चालन गरिएको तोरी व्लकको कार्यक्रमले समेत कृषकलाई यस खेती तर्फ आकर्षण वढाएको उहाँले बताउनुभयो । चितवनमा मोरङ–२, प्रीति, प्रगती, चितवन स्थानीय जस्ता जातका तोरीहरु लगाइदै आईएको छ ।






