काडमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । “एक–दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ,” प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले “त्यसको तयारी भइरहेको छ ।”

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ । तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छैन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीको सम्बोधन मार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !