काठमाडौँ, ४ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको नेपालले आजको खेलमा बराबरी गरे मात्र पनि फाइनलमा स्थान बनाउनेछ ।

भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई खेलमा जित र एकमा हार बेहोरेको भारत भने ६ अंकमा तेस्रो स्थानमा छ ।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

नेपालले तीन खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । शुक्रबार भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

पाँच टोली सहभागी च्याम्पियनसिपको शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस !