चितवन,१७ मङ्सिर । चितवनका दोहोरी साँझहरुमा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामाग्री अनिवार्य रुपमा राख्ने अभियान सुरु भएको छ । महिलाका निम्ति महिला मञ्च नेपाल जिल्लास्तरीय पहिचान सञ्जालले अभियान सुरु गरेको हो ।
महिला मञ्चकि केन्द्रीय उपसंयोजक आयुष्मा केसीले हरेक दोहोरी साँझ तथा गजल साँझहरुमा अनिवार्य रुपमा महिनावारी व्यवस्थापन सामाग्री राख्न सञ्चालकहरुलाई आग्रह गरिएको बताइन् ।

रात्रीकालिन सांगीतिक क्षेत्रमा कार्यरत महिलाहरु महिनावारीका बेला निकै समस्यामा परेको गुनासो आएपछि अभियानै चलाएका हौं,उनले भनिन्, पहिलो चरणमा हामीलेनै सामाग्री वितरण गरेका छौँ, आगामी दिनमा उहाँहरुलेनै व्यवस्थापन गर्नुहुनेछ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर यो अभियान चलाइएको हो । चितवनमा ७ वटा दोहोरी साँझ र एउटा गजल साँझ सञ्चालनमा छन् । करिव ८० जना महिलाहरु गायन, नृत्य तथा वेटरका रुपमा कार्यरत छन् । जिल्लास्तरीय सञ्जालकि अध्यक्ष गायिका सरिता गुरुङले महिनावारीका बेला सेनेटरी प्याड समेत उपलब्ध नहुदा सास्ती भोग्नुपरेकाले अभियान चलाइएको बताइन् । ूराती लगातार ४ घण्टा गीत गाउदा या नाचिरहका बेला सजिलै सेनिटरी प्याड किन्ने सुविधा पनि हुदैनू, उनले भनिन्, ूपहिल्यै मोज्दात राखेमा तत्कालै समस्या हल गर्न पनि सजिलो हुनेछ ।

४ वर्षदेखि दोहोरी साँझमा नृत्य तथा गाउदै आएकी मुना मगरले आकस्मिक महिनावारिहुदा जोखिमयुक्त कपडाहरु प्रयोग गर्नुपर्ने बाध्यता हट्ने बताइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका सचिव जिवि सुनारले महिलामैत्री अभियान प्रशंसा गर्न लायक भएको बताए । गायक शक्ति गोदारले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताए । प्रतिष्ठान चितवनका निवर्तमान अध्यक्ष आनन्दकुमार रञ्जितले स्वास्थका लागि अतिआवश्यक सामाग्रीहरु निरन्तर राखिने बताए ।

प्रतिष्ठान चितवनका अध्यक्ष लोकबहादुर रानाभाटले अब देखि हरेक दोहोरो साँझहरुमा अनिवार्य स्वास्थ सामाग्री तथा सेनिटरी प्याड राखिने बताए । महिला अधिकारकर्मी मञ्जु खाँडले सेनिटरी प्याड सरकारले निस्शुल्क रुपमा सार्वजनिक स्थानहरुमा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस !