चितवन, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मानव समुन्द्र उपस्थित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढस्थित नारायणदी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पाँच लाख बढी जनसहभागिता हुने बताउनुभएको हो ।

भट्टराईका अनुसार विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिवेशन उद्घाटनस्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जानकारी दिनुभयो । भट्टराईले जिल्लाका ५० भन्दा बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको, झण्डा र धजापताकाले जिल्लालाई सजाईएको बताउनुभयो ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागि हुनुहुनेछ । प्रतिनिधिमध्ये ६२७ जना महिला र २०९ जना दलित रहेको भट्टराईले जानकारी दिनुभयो ।

महाधिवेशनको भोलि मध्यान्ह १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अन्य दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायत विदेशीमुलुकका राजनीतिक दलका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुने भट्टराईले जानकारी दिनुभयो । चिनिया कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त हुने उहाँको भनाई छ । कोरोनाका कारण चिनियाहरु विदेश भ्रमण नगरेका कारण उहाँहरुले सन्देश पठाउने भट्टराईले बताउनुभयो ।

महाधिवेशन लगत्तै एमालेको अर्जुन दृष्टि निर्वाचनमा जाने उहाँको भनाई छ । उहाँले भन्नुभयो “महाधिवेशनपछि एमालेको दृष्टि अब चुनाव हुन्छ ।” यो महाधिवेशनले सम्पूर्ण रुपमा पार्टीलाई एकताबद्ध गराउने बताउँदै भट्टराईले भन्नुभयो “एमालेले तीनै तहमा बहुमत ल्याउने गरी महाधिवेशनबाट संकल्प गरेर फर्किन्छौं । महाधिवेशनको विशेष सन्देश यही हुने छ ।”

यो महाधिवेशन एकता, सहमतिको हुने बताउँदै भट्टराईले भन्नुभयो “नेकपा एमालेलाई यो देशको कम्युनिष्ट आन्दोलनको एकमात्रै पार्टीका रुपमा स्थापित गर्नेछ ।” एमालेको प्रतिस्पर्धा अब यथास्थितिवादी र दक्षिणपन्थी शक्तिहरुसँग हुने भट्टराईको भनाई छ ।

एमाले महाधिवेशनको उद्घाटन नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस !