चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)को कालो सूचिबाट हटाउन पहल भैरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले नेपाल अहिले पनि आइकाओको कालो सूचिमा रहेको र यसलाई हटाएर पर्यटन प्रबर्धन गर्नका लागि पहल भैरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिटै हटाउन भनेको छु । नेपाल आईसके पछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।” सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहदै आएको छ ।

उहाँले भारतका मुख्य शहरहरुमा थप उडान भर्ने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भारतीय र नेपाली नागरिक बाहेक अन्य आवत जावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।” अब छिट्टै बैंकलोर, कलकत्ता, मुम्बई, चेन्नाई लगायतका शहरमा पनि उडान नियमित हुने उहाँको भनाई थियो ।

कोरोनाको त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको बिकास हुन नसकेको उहाँले बताउनुभयो । कोभिड पुरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने बिषय छलफलमै रहेको उहाँको भनाई छ । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिएपनि कोभिड महामारीका कारण स्थगित भएको थियो । फरक प्रसंगमा बोल्दै उहाँले भरतपुर बिमानस्थलको स्तरोन्नतीका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !