चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काङ्ग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताउनु भएको हो ।

कम्युनिष्टहरुले गर्न नसकेको काम काङ्ग्रेसले गरेको भए पनि काङ्ग्रेसलाई कमजोर वनाउने काम नेतृत्वबाट हुँदा आम जनताले दुःख पाउनु परेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम काङ्ग्रेसको नेतृत्वमा भएको छ । तर भोट माग्न जाँदा समस्या आउँछ ।” काँग्रेसको नेतृत्वले जनताको मर्म बुझेर काम गर्न नसक्दा यो समस्या आएको भन्दै उहाँले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संबिधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्न्ुभयो “१४ औं महाधिबेशनपछि जनताको चाहना अनुसारको काङ्ग्रेस बनाइने छ ।” अहिलेको समयमा जनतामा नैरास्यता छाउनुको कारण पनि काङ्ग्रेसले जनचाहना बिर्सिएको कारण रहेका उहाँको भनाई थियो । पार्टीलाई बिधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै काङ्ग्रेसलाई कसैले पछि पार्न नसक्ने उहाँले जिकिर गर्नुभयो । “यद्यपि बिधि अनुसार पार्टी चल्न सकेन भने प्रजा परिषद् बन्न सक्छ ” उहाँले भन्नुभयो ।

नेता सिंहले काङ्ग्रेस कमजोर बन्दै जाँदा प्रजातन्त्र कमजोर बन्ने र देशमा समस्या आउने बताउनुभयो । आगामी आम निर्वाचनमा काङ्ग्रेले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निार्वचनमा गठवन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “चैतमा स्थानीय तहको निर्वाचन हुँदै छ । अहिलेको गठवन्धन सरकार सञ्चालनका लागि हो । निर्वाचनका लागि होईन ।” आउँदो निर्वाचनमा काङ्ग्रेसले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस धादिङ्का सभापति रमेश धमला, काङ्ग्रेस चिवतनका उपसभापति कैलाश कोइराला, काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गाना लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !