चितवनः धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालिमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुवाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याईएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाईएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याईसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याईएको छ । भित्र्याउन बाँकी मध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेकोमा खडा अवस्थाको धान ढलेको छ भने पाँजा पानीले डुवाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाई छ । उहाँको भनाईमा पानीमा डुवेको धानबाट राम्रो चामल, चिउरा लगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकाहरुमा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताउनुभयो । निरन्तरको वर्षाको कारण धानमा ठूलो क्षति भएको उहाँले जानकारी दिनुभयो । पानी निरन्तर परिरहेकाले थप क्षति हुन सक्ने आँकलन गरिएको पाण्डे बताउनुहुन्छ । विगतका वर्षहरुमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उहाँको भनाई छ ।

चितवनमा यस बर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत बर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १ लाख ३ हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३.८ मेट्रिकटन उत्पादन हुने गरेको छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !