चितवन,२६ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनीक पदार्थ नियमन अध्यादेश निश्कृय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षि दलले संसद सञ्चालनमा अबरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याईएको अध्यादेश निस्कृय वन्न पुगेको बताउनु भएको हो ।
महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय वनाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अध्यादेश खारेज गरिएको होइन । निस्कृय भएको छ । संसदको अवरोध हटेपछि यसलाई सक्रिय वनाउँछौ ।” हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो । महिला तथा बाबालिकाका क्षेत्रमा काम गर्नका लागि आँफुले यस मन्त्रालय रोजेको बताउँदै उहाँले भन्नुभयो “अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन वनाएर महिला बालबालीका र जेष्ठ नागरिकका क्षेत्रमा काम गछौं ।”
मन्त्री रेग्मीले जेष्ठ नागरीक, अपाङ्गहरुलाई सामाजिक सुरक्षा भत्ता लिन वैंक सम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पु¥याउने गरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हुने खानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ ।” सरकारले अब बालबालिकाको खोपलाई प्रथामिकतामा राखेर काम गरिरहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर बाबालिकाका लागि खोपको व्यवस्था हुँदै छ ।”
बिद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसंग समन्वय गरिरहेको उहाँले बताउनुभयो । आँफुले संहालेको मन्त्रालयमा केही ठोस काम गर्नु पर्ने देखिएको बताउँदै उहाँले नीति निर्माण तह सम्म महिलालाई ल्याउनका लागि आँफु र सरकार लाग्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको गठवन्धनमा कुनै समस्या नरहेको जिकिर गर्नु भयो । गठवन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उहाँले अब रोकीएका कामहरु सहज रुपमा अगाडी वढ्ने वताउनुभयो ।






