काठमाडौः पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताउनुभयो । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए ।
एकजना व्यक्ति आएर उहाँलाई भने “माल निकाल ।” प्रहरीका अनुसार ती व्यक्तिले “माल निकाल” भनेर गाँजा मागेको थाहा भएको छ । हिन्दी भाषा मात्र बोल्ने सन्तोषले “छैन” भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।






