काठमाडौंः नेपालमा ओली बिरासत पछि प्रधानमन्त्रीको रुपमा आउनु भएका नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले आज सपथ ग्रहण गर्नु भएको छ । ्पाँचौं पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा पाउँनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।
गाउँ नजिकै रहेको असिग्राम प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका देउवाले डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माविबाट निम्न माध्यमिक तहको अध्ययन गर्नुभयो । उहाँले माध्यमिक शिक्षा डोटीमा रहेको सीताराम मावि उच्चकोटबाट पुरा गर्नु भएको थियो । स्कूले जीवनबाट नै देउवा नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भइसक्नुभएको थियो ।
देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको हो । २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उहाँ नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुनुहुन्छ ।
उहाँ २०२८ असोज १ देखि २०३६ फागुन २९ गतेसम्म नेविसंघको अध्यक्ष बन्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवाले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत गर्नु भएको छ ।
पहिलो पटक २०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएको थियो । वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्रीको पद सम्हाल्नुभएका देउवा २०५२ देखि २०६१ सालसम्म तीनपटक प्रधानमन्त्री निर्वाचित हुनुभयो ।
देउवा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक सदस्य र नेविसंघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । उहाँ पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उहाँलाई पदबाट बर्खास्त गर्नुभयो । देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभयो ।
देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री हुनुभयो । देउवा नेतृत्वको सरकारले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको बाटो खुलेको थियो ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेश (कदमजम) को अवधारणा ल्याउनुभएको थियो । त्यस्तै उहाँकै पालामा कमैया मुक्ति घोषणा हुनुका साथै विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन भएका थिए ।
देउवा पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभयो । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अघि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ वरिष्ठ नेता बन्नुभयो । कांग्रेसको राजनीतिमा ६ दशकदेखि अनवरत सक्रिय देउवा २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित बन्नुभयो ।
देउवा २०४८ सालदेखि भएका सबै आमनिर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट विजय हासिल गर्दै आउनुभयो । उहाँले प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विजयी हुनुभएको थियो ।
त्यस्तै २०६४ मा सम्पन्न पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर–४ तथा २०७० सालमा भएको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ बाट निर्वाचित देउवा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने डडेल्धुराबाट विजयी बन्नुभयो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष रहनुभएको २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष रहनुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले प्रजातन्त्र पुनर्वहालीका लागि पटक–पटक भएका आन्दोलनका क्रममा १० वर्ष १० महीना जेलजीवन विताउनुभयो ।
देउवा पत्नी डा. आरजू राणा पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ पूर्व सांसद पनि हुनुहुन्छ । देउवाका एक छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययन सकेर अहिले नेपालमै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !