मकवानपुरः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ ।

प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गरेका छन् ।

प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ ।

सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !