चितवनः निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्दाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्दाको थुनछेकका क्रममा सो संख्यामा फैसला भएको हो ।

अदालतको तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उहाँका अनुसार सो समयमा ८४ वटा मुद्दामा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिट समेत रहेको उहाँले बताउनुभयो । बन्दी प्रत्यक्षीकरणको मुद्दा सहित १५ वटा मुद्दाको फैसला भएको हो ।

निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उहाँको भनाई छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी गरेको छ । सो समयमा जिल्लामा अधिकांश लागु औषधका मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । लागु औषधका २१ मुद्दामा ३९ जना, सवारी ज्यानका १६ मुद्दामा १६ जना, जबरजस्तीकरणीका ४ वटा मुद्दामा ४ जना, २ वटा करणी उद्योगका मुद्दामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले बिभिन्न मुद्दामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस !