
चितवन, : मेडिकल सिटीका रुपमा विकास भईरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालहरुमा रगतको माग हुने गर्दछ ।
क्यान्सरका बिरामी, ठूलो संख्यामा हुने प्रसुती, दुर्घटनाका घाईते र ठूला शल्यक्रिया (मेजर अप्रेसन) यहाँ हुने भएकाले माग बढी भएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ संकलन गरेको रगत राजधानी काठमाण्डौं, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षहरुमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताउनुहुन्छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।
उहाँका अनुसार यहाँका रगतको माग पूर्ति गर्न चितवन सहित छिमेकी जिल्लाबाट रगत संकलन गरी ल्याउने गरिन्छ । उहाँले भन्नुभयो “मकवानपुर, गोरखा, लम्जुङ, तनहुँ, नवलपरासी, लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौं ।” केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आपूर्ति धान्ने गरेको उहाँको भनाई छ ।
वर्षैभर रगतको अभाव हुने गर्दछ । बिरामीका आफन्त र साथीभाईसँगै स्वयंसेवि रक्तदाताहरुसँग सहयोग मागेर रगतको परिपूर्ति गर्ने गरिएको छ । काठमाण्डौंको प्रसुतीगृहपछि धेरै प्रसुती यहाँ हुने गर्दछन् । पछिल्ला वर्षहरुमा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दै जाँदा रगतको माग बढेको हो । क्यान्सरका बिरामीलाई धेरै रगत दिनु पर्ने हुन्छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार यसका अतिरिक्त ठूला शल्यक्रिया र दुर्घटनाका घाईतेलाई पनि बढी मात्रामा रगत आवश्यक पर्दछ ।
केन्द्रले स्थानीय तह र संघ संस्थाहरुलाई रक्तदानमा उत्प्रेरणा जगाउन अनुरोध गर्दै आएको छ । जिल्लाका सात पालिकामध्ये माडी र ईच्छाकामनाले आफ्ना पालिकावासीलाई आवश्यक पर्ने रगतको भुक्तानी गर्दै आएका छन् । ती सँगै सबै पालिकाले रक्तदान कार्यक्रम आयोजकलाई प्रतिरक्तदाता रु.१०० दिंदै आएका छन् । यो रकम बढाएर सहयोग गर्न अनुरोध गरिएको पौडेलले बताउनुभयो ।
यसका अतिरिक्त टोल विकास संस्थाहरुमा रक्तदान सम्बन्धी उत्प्रेरणा जगाईदिन सहयोग गर्न सबै पालिकाहरुमा नेपाल रेडक्रस सोसाइटीले अनुरोध गर्दै आएको छ । आउँदो केही वर्षमा वार्षिक ५० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लामा ३५० भन्दा बढी संस्थाले वार्षिक क्यालेन्डर बनाएर रक्तदान गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न सामाजिक संघ संस्थाले समय समयमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
भरतपुर अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.कृष्णप्रसाद पौडेल आन्तरिक र बाह्य रक्तश्रावका कारण रगतको मात्रा घटेमा रगत त्यस्ता बिरामीलाई दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “हेमोग्लोविन र शरीरमा रगतको मात्रा बढाउन रगत अत्यावश्यक छ ।” त्यस्तै क्यान्सरका बिरामीमा प्लेटलेसको मात्रा बढाउन पनि रगत दिने गरिन्छ । समयमा रगत प्राप्त नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले रगत अति महत्वपूर्ण हुने उहाँको भनाई छ । यसैले पनि रक्तदान जीवनदान भन्ने गरिएको हो ।
रक्तदान भनेको के हो ?
सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई जनाउँछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबाइटिकसँगै कार्बनडाइअक्साइड, युरियाजस्ता बिकार ओसारपसार गर्छ । रगतको रातो रक्तकोणले अक्सिजन, कार्बनडाइअक्साइड यताउता गर्न, श्वेत रक्तकोणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने कार्य गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भागमा प्लाज्मा (९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व) रहेको हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थहरू रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स हुन्छन् ।
रक्तदानको महत्व
हामीले ब्यापक रूपमा सुन्ने गरेका छौं, ’रक्तदान जीवनदान’ । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । साधारणतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४ सय ७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । किनभने एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १ सय २० दिन भित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो–छिटो रगतको उत्पादन हुने गर्दछ । त्यसैले स्वस्थ ब्यक्तिले हरेक ३-३ महिनामा रक्तदान गर्न सक्छन् ।
जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरिट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत् बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ । एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुनः निर्माण भइसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।
कसले गर्न हुँदैन रक्तदान ?
१८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी, गर्भवती वा व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने, चक्कर लाग्ने बेहोस हुने समस्या भएमा रगत दान गर्नु हुँदैन । यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुम्रपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान गर्नु उचित हुँदैन ।