चितवन, : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले बर्सेनि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यसवर्ष चितवनका पत्रकार राजेश घिमिरेले पाउने भएका छन् । विश्व वातावरण दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार चितवनका पत्रकारलाई तेस्रो पटक प्रदान गरिन लागेको हो । यस अघि चितवनका पत्रकार रमेश कुमार पौडेल र प्रभाकर घिमिरेले यो पुरस्कार पाइसकेका छन् ।

‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा नेवापसले विगत तीन दशकदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । कायाकैरन दैनिक र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने संस्थाले जनाएको छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२० भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२० भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष लक्ष्मण उप्रेतीको संयोजकत्वमा समूहका पूर्व महासचिव राजेश घिमिरे र विज्ञ सदस्य मन्जित ढकाल सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२०’ पाउने उनी ३४ औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस !