![](https://www.clickkhabar.com/wp-content/uploads/2021/06/Npi.jpg)
चितवनः नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) को स्वास्थ्य सम्बन्धी प्रयोगात्मकका लागि १५ वर्ष अघि यहाँ स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटलले सञ्जाल विस्तार गरेको छ । अस्पतालले नवलपरासी, गोरखा र चितवनमै सञ्जाल विस्तार गरेको हो ।
भरतपुरको अस्पतालरोडमा रहेको यस अस्पतालले भरतपुरमै क्यान्सर सहितको उपचार गर्न न्यूटन अस्पताल निर्माण गरिरहेको छ । कावासोतीमा एनपिआई कालिगण्डकी अस्पताल सञ्चालनमा ल्याएको छ भने गोरखामा एनपिआई गोरखा अस्पताल निर्माणको क्रममा रहेको छ ।
अस्पतालका कार्यकारी अध्यक्ष डा.भक्तमान श्रेष्ठका अनुसार भरतपुर महानगरपालिका वडा नं. ८, मा तीन सय ५० श्ययाको अत्याधुनिक अस्पताल निर्माण हुँदैछ । एनपिआईको ४० प्रतिशत शेयर रहेको रु.५ अर्ब लगानीमा निर्माण हुँदै गरेको यस अस्पतालमा १५० श्यया क्यान्सरका लागि छुट्याईने छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडका कारण अरु एक वर्ष ६ महिना लाग्ने अनुमान गरिएको छ ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा लामो समय उपचार र व्यवस्थापनमा अनुभव लिनु भएका डा.श्रेष्ठले भन्नुभयो “क्यान्सर र अन्य उपचारका लागि विदेश जाने बिरामीलाई रोक्ने गरी न्यूटन सुविधासम्पन्न हुनेछ ।” नेपालकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल न्यूटन बन्ने उहाँको दावी छ ।
यस्तै कावासोतीमा रहेको कालिगण्डकी अस्पतालसँग मिलेर ५१ श्ययाको एनपिआई कालिगण्डकी अस्पताल सञ्चालनमा ल्याईएको छ । श्रेष्ठका अनुसार नियमित रुपमा भरतपुरबाट विशेषज्ञ चिकित्सक त्यहाँ गएर सेवा दिंदै आएका छन् । सोही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.विजय न्यौपाने नवलपुर क्षेत्रका बिरामीहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने बताउनुहुन्छ ।
जटिल अवस्थाका बिरामीलाई भरतपुर ल्याईने छ भने अन्यलाई त्यही उपचार गरिने उहाँको भनाई छ । न्यौपानेले भन्नुभयो “हामी कावासोतीमै भरतपुरकै सरह उपचार सेवा दिंदैछौं ।” न्यौपाने वीपी मेमोरियल क्यान्सर अस्पतालका पूर्व उपनिर्देशक हुनुहुन्छ । उहाँसँग पनि क्यान्सर अस्पतालको लामो अनुभव छ ।
एनपिआईले गोरखामा स्थानीयसँग सहकार्य गरेर एनपिआई गोरखा अस्पताल निर्माण गरिरहेको छ । एनपिआई नारायणी सामुदायिकका उपाध्यक्ष एवं एनपिआई गोरखाका प्रबन्धनिर्देशक पुष्प धिताल अबको १८ महिनामा अस्पताल सञ्चालनमा ल्याउने बताउनुहुन्छ । ५५ श्ययाको सो अस्पताल एनपिआई नारायणी सामुदायिक अस्पताल, यसका शेयरधनी र स्थानीयहरु साझेदार रहेका छन् ।
रु.९ करोडभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । धितालले भन्नुभयो “यस क्षेत्रका नागरिकलाई यही सुविधासम्पन्न उपचार सेवा दिने उद्देश्यले हामीले अस्पताल सञ्चालन गर्न लागेका हौं ।”
एनपिआई नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरका अनुसार बि.सं. २०६३ सालमा यहाँ स्थापना भएको यस अस्पतालले एक वर्षमा १ लाख २८ हजारभन्दा बढीलाई बहिरंग सेवा दिंदै आएको छ । उहाँका अनुसार एक महिनामा यहाँ पाँच सय हाराहारी शल्यक्रिया हुने गरेको छन् ।
दुई सय श्ययाको यो अस्पताल जिल्लाको ठूलो अस्पताल मध्ये पर्दछ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट मुख्य शेयरधनी रहेको यस अस्पतालमा १८२ जना अन्य शेयरधनी छन् । छोटो समयमा अस्पतालले आफ्नो सञ्जाललाई विस्तार गर्न सकेको हो । कुँवरले आफ्नै ठाउँमा उपचार सेवा दिने उद्देश्यका साथ सञ्जाल विस्तार गरिएको जानकारी दिनुभयो । बाग्लुङ लगायतका ठाउँहरुबाट पनि सञ्जाल ल्याउन अनुरोध गरेको उहाँको भनाई छ ।
यस अस्पतालमा मात्रै काम गर्ने विशेषज्ञ चिकित्सकदेखि यहाँका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुले बिहान बेलुकाको समयमा सेवा दिंदै आएका छन् । एनपिआई नारायणी सामुदायिक अस्पतालको पिसिएल नर्सिङ, बिएन र बिएस्सी नर्सिङको पढाई गर्दै आएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) का सबैभन्दा धेरै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्था हो । स्वास्थ्य सम्बन्धी सिटिईभिटीका अधिकांश कार्यक्रम सो इन्स्टिच्यूटले सञ्चालन गर्दै आएको छ ।