काठमाडौंः नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ भन्नुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेका बताउनुभयो ।अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न उहाँले समस्त नेपालीमा अपील गर्नुभयो ।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात काँग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको देउवाको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहँदा सरकार जनताको जीवनप्रति सर्वथा उदासिन र संवेदनहीन देखिएको देउवाले बताउनुभयो ।

यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !