चितवनः जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा दुई सय ६ जनाको मृत्यु भएको छ । जसमध्ये भरतपुर महानगरपालिका १ सय ३१ जनाको मृत्यु भएको हो । यस्तै खैरहनी नगरपालिकाका ११ जना, माडी नगरपालिकाका ७ जना, रत्ननगर नगरपालिकाका २४ जना, राप्ती नगरपालिकाका १८ जना, कालिका नगरपालिकाका १३ जना र इच्छाकामना गाउँपालिकाका २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका बिभिन्न अस्पताल र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको संख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतक मध्ये ३ सय २८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शवहरु परिवारको सल्लाहामा पारिवारिक संस्कार अनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतक मध्ये १ सय ३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ९ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ । जस मध्ये ४ हजार ८ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये ४ हजार ६ सय ५८जना होम आइसोलेसनमा उपचाररत रहेका छन् भने १ सय ६२ जना अस्पतालमा र १४ जना सामुदायीक आईसोलेसनमा रहेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ७ हजार ९ सय ३५ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस !