
चितवनः जिल्लामा कृयाशिल पाँच राजनैतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस चितवन, नेकपा (माओवादी केन्द्र) चितवन, नेकपा एमाले चितवन, जसपा चितवन र राष्ट्रिय जनमोर्चा चितवनले आज संयुक्त बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
सरकारले तीन वुद्धामा ध्यानाकर्षण गर्न उनीहरुले आग्रह गरेका छन् । कोभिड १९ निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन र अस्पतालमा देखिएको अक्सिजन, खोप लगायतका स्वास्थ्य सामाग्री यथावत गर्न दलहरुले माग गरेका छन् । यस्तै वन्दावन्दीको कारण प्रभावित मजदुर, किसान, सुकुम्बासी जनताको जिवननिर्वाहको निम्ति तुरुन्त राहतको व्यवस्था गर्न, स्थानीय कृषि उत्पादन तरकारी तथा खाद्य उत्पादनको बिक्रि वितरणको व्यवस्था मिलाउन र महंगी र कालोवजारी नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमवहादुर परियार, नेकपा एमाले चितवनका अध्यक्ष तेजेन्द्रवहादुर खड्का, जसपा चितवनका अध्यक्ष प्रेम भूजेल, राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीद्धारा संयुक्त रुपमा जारि बिज्ञप्तिमा लोकतान्त्रीक गणतन्त्र नेपालको संबिधानको मुल्य मान्यता विपरीत सरकारले गरेको संसद विघटन प्रति आँफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् । संघियताको प्रभावकारी कार्यान्वयन संगै लोकतान्त्रीक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुक सम्बृद्धिको महाअभियानमा जुट्नु पर्नेमा राष्ट्रिय दायित्वलाई विर्सिएर पटक पटक संबिधान मिचेर अराजनैतिक र स्वैच्छाचारी कदमको हामी खेद व्यक्त गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तिमा लेखिएको छ “दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटो हिँड्न खोजेका छन् ।” राजनीतिक दलले प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको सात दशक लामो बलिदानपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मुल मर्म र भावनाविपरीत मध्यरातमा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक स्वैच्छाचारी कदमकोे घोर भत्र्सना गरेका छन् ।
‘प्रधानमन्त्री र स्वयं राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्चाउँदै देशलाई संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनवासी सबैमा हार्दिक अपील गर्दछौंँ’ पाँच राजनीतिक दलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।