चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) का जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिवेला आफ्नै कृषि फर्ममा तल्लिन हुनुहुन्छ । माडी नगरपालिका वडा नम्बर ५ छरछरेमा उहाँले माडी सामुहिक बहुउद्देशीय एग्रो एण्ड भेट फर्म नामक संस्था सञ्चालन गरिरहनु भएको हो ।

सोही फर्मको सञ्चालकको रुपमा पनेरु अहिले कृषि कर्ममा लाग्नु भएको छ । उहाँ संगै अन्य तीन जना राजनैतिक गरिरहेका व्यक्तिहरुको साझा लगानीमा उहाँले फर्म सञ्चालनमा ल्याउनु भएको हो । अनेरास्ववियू (क्रान्तिकारी)का प्रदेश सह संयोजक सुरज सिंह ठकुरी, वाइसियल माडी इन्चार्ज हरिकृष्ण लामिछाने र स्थानीय सन्देश पनेरुको संयुक्त लगानीमा अहिले २५ कठ्ठा क्षेत्रफलमा माडीको सदरमुकाम वसन्तपुरबाट करिब ५ किलोमिटर टाढा फर्म सञ्चालनमा ल्याईएको छ ।

जहाँ हाँस, स्थानीय जातका कुखुरा, बंगुर पालन गरिएको छ । करिब रु ६५ लाखको लागतमा सञ्चालन गरिएको सो फर्ममा अहिले बेच्ने समयका हाँस १ सय वटा, हाँसका चल्ला एक हजार, स्थानीय जातका कुखुरा ६ सय वटा र बंगुर माउ बच्चा गरेर १ सय वटा रहेका छन् । आफ्नो राजनीतिक यात्रा सँगै व्यवसायीक बन्नुपर्ने देखेर आँफुले यो व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा राजनीतिकर्मिहरुलाई आर्थिक समस्या देखिने र भ्रष्टाचार वढ्ने भएकाले यसको न्यूनिकरणका लागि व्यवसायीक रुपमा काम गर्न सकिन्छ भन्ने देखाउन आफुले कृषि व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । विसं. २०६० सालमा माडी माविबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका पनेरु पछिल्लो समयमा युवा पुस्तामा राजनीतिप्रतिको वितृष्णा अन्त्य गर्दै व्यवसायीक रुपमा लागेर पनि राजनीति गर्न सकिन्छ भन्ने देखाउनका लागि आफुले माडी आएर काम सुरु गरेको बताउनु हुन्छ ।

उहाँले भन्नुभयो “हप्तामा दुई दिन श्रम गर्छु । पाँच दिन राजनैतिक कार्यक्रममा सहभागी बन्छु ।” यहाँका उत्पादनले बजारको माग थेग्न नसकेपछि यस फर्मको क्षमता वृद्धि गर्न लागेको उहाँको भनाई छ । रोजगारीको शिलशिलामा विदेशीने युवाहरुलाई यही रोजगारी दिने र व्यवसायीक बनाउने उद्देश्यका साथ लागि परेको पनेरु बताउनुहुन्छ ।

यस फर्मले अहिले तीन वटा कृषक समूहसँग सहकार्य गरेर बंगुर पालनको काम समेत बिस्तार गर्दै छ । स्थानीय युवाहरुलाई साथमा लिएर काम गरे यही केही गर्न सकिने उहाँको बुझाई छ । यस फर्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस !