चितवन, : आमा खुवाउनने औसीमा छोराछोरीले उपहारमा दिएको रकम सबैका लागि प्यारो लाग्छ । त्यही रकमले बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिण्डर दिनुभएको छ । वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रलि उपलब्ध गराउनु भएको हो ।
संविधान सभा सदस्य समेत रहनु भएकी वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र बिनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहनु भएकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “पहाडी क्षेत्रमा कोरोना संक्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।”
संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शैयाको निःशुल्क आईसोलेसन सञ्चालन गरेको बताउनुभयो । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन संचालनमा ल्याईएको छ । आईसोलेसन शैया ५० पु-याउने लक्ष्यका साथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने उहाँको भनाई छ । ईच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो ।







