काठमाडौँ, : पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।
सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली-पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ । देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । यो मौसममा मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।