
काठमाडाैं, : पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। उनको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते राजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्याइएको थियो ।
उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।
उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । शुरूमा ५/७ जनाको समूहमा आएका व्यक्तिहरूसँग सशस्त्र प्रहरीको भनाभन भएको थियो ।
त्यसपछि उनीहरूले गाउँबाट ५०/६० जनाको समूह बोलाई टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।
‘भीडलाई नियन्त्रण गर्न शुरूमा अश्रु ग्यास प्रहार गरिएको थियो । तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने ।
भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सई) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।
जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीयहरू नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।