
चितवनः नेपाल सरकारले नक्कली काम गरेको भन्दै आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ आज बिहान प्रशासनले नियन्त्रणमा लिइएको छ । भरतपुर ३ नारायणघाट स्थीत कमलनगरमा रहेको स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट ६० बोरा बीउ जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले मंगलबार बरामद गरेको हो ।
नेपाल सरकारले सूचीकरण बाट हटाएको गोरखनाथ ५०९ जातको धानको बीउ बजारमा अवैध बिक्री वितरण भईरहेको गोप्य सूचनाको आधारमा अनुगमन गर्दा उक्त परिमाणमा धानको बीउ बरामद गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।
कोशी अर्गानिक मल विराटनगरबाट जिल्लाका बिभिन्न एग्रोभेटको लागि आएको उक्त बिऊ स्वस्तिक ट्रान्सपोर्ट कमलनगरको गोदामबाट बरामद गरिएको ज्ञानकेन्द्रका प्रमुख ढकालले बताउनुभयो ।
जिल्लाका एग्रोभेट हरुमा सयौं बोरा अवैध गोरखनाथ ५०९ धानको बीउ छ्याप छ्याप्ती बिक्री वितरण भइरहेको सूचना एक हप्ता अघि नै प्राप्त गरेको प्रशासन र ज्ञान केन्द्रले कोरानको कारण देखाई अनुगमनमा ढिलाई गर्दा कम परिमाण अवैध बिऊ वरामद गरिएको थियो ।
कोशी अर्गानिक मलद्धारा जारी गरिएको बीउबीजकमा एभरेष्ट एग्रो इन्टरनेशल विशालमार्ग नारायणगढको नाममा २० बोरा, साझा एग्रोभेट सेवा रत्ननगर १ सौराहा चोकको नाममा २० बोरा र प्रशान्त एग्रोभेट खुरखुरेको नाममा १० बोरा , अमृतचोकको एक एग्रोभेटको नाममा १० बोरा गोरखनाथ ५०९ जातको धानको बीउको बीलबीजक जारी पठाईएको ज्ञानकेन्द्र निकट श्रोतले जानकारी दिएको छ ।
जिल्लामा निशेधाज्ञाको मौका छोपी अवैध बीउबीजन बिक्री वितरण भइरहेको सूचनाको आधारमा आजै जिल्ला प्रशाशन कार्यालय चितवन, कृषि ज्ञान केन्द्र भरतपुर र पत्रकारसहितको टोलीले नारायणगढ, पूर्वी चितवनको पदमपुर,खोलेसिमल र टांँडी बजारका एक दर्जन एग्रोभेट पसलहरुमा अनुगमन गरेको थियो ।